Saturday, May 7, 2011

जापानको भूकम्प प्रभावित फुकुसिमास्थित आणविक प्लान्टमा तेस्रोपटकको विस्फोटपछि सरकारी प्रवक्ता युकियो इदानाले त्यसवरपरका बासिन्दालाई भने, 'घरभित्रै रहनू, झ्याल बन्द गरेर भित्र हावा नचल्ने गरी बस्नू ।'विस्फोटले विकिरणको मात्रा बढेको बताउँदै यसले जनस्वास्थ्यमा असर पर्न सक्नेबारे छलफल गरिरहेको जानकारी उनले गराए । झ्यालका भेन्टिलेटर्स नखोल्न र आफ्ना लुगाहरू घरभित्रै झुन्ड्याउन पनि उनले आग्रह गरे । दाइइचि प्लान्टको दोस्रो रियाक्टरमा पनि विस्फोटपछि विकिरणले स्वास्थ्यमा त्यति ठूलो खतरा नहुने दाबी गरे पनि सर्वसाधारणले विश्वास गर्न नसकेको बताएका छन् ।प्रधानमन्त्री नओतो...


कानले सरकारले विकिरणको खतरा रहेको क्षेत्र विस्तार गर्दै उक्त दाइइची प्लान्टदेखि ३० किलोमिटरसम्मका बासिन्दालाई अन्यत्र जान वा घरभित्रै रहन आग्रह गरेका छन् । यसअघि प्लान्टदेखि २० किलोमिटरलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो । थप विस्फोटनपछि राष्ट्रसंघीय मौसम एजेन्सीले हावाले विकिरणयुक्त पदार्थ जापान र अन्य एसियाली मुलुकभन्दा टाढा प्रशान्त महासागरतिर पुर्‍याएको जनाएको छ । तर मौसम परिवर्तन हुन सक्ने उसले जनाएको छ ।गत शुक्रबार जापानको उत्तरपूर्वी क्षेत्रमा ९ रेक्टर स्केलको भूकम्प र त्यसलगत्तै आएको सुनामीले मृत्यु हुनेको संख्या ३ हजार ४ सय पुगेको छ । दशौं हजारको मृत्यु भएको प्रहरीको अनुमान छ । तर चार दिनको अवधिमा मंगलबार बिहान तेस्रोपटक रियाक्टर-२ पडकएपछि चुहावट भएको विकिरणको खतरा बढेको हो । प्लान्टको रियाक्टर-४ मा आगलागी भएको छ । यसबाट पनि विकिरण चुहिएको अनुमान छ ।


रियाक्टर-४ मर्मतका लागि भूकम्पअघि नै बन्द गरिएको थियो । तर यसमा प्रयोग भइसकेका फ्युल रडहरू यही क्षेत्रमा स्टोर गरिएका थिए । राजधानी टोकियोदेखि २ सय ५० किलोमिटर पर प्लान्ट रहेको क्षेत्रमा विकिरणको मात्रा बढी देखिएको छ । तर यसले स्वास्थ्य खतरा नहुने दाबी अधिकारीहरूले गरेका छन् । विकिरणको मात्राबारे सरकारले पटकपटक सरकारी अधिकारीहरूले जानकारी गराउँदै आएका छन् । विकिरणको मात्रा स्वास्थ्यमा असर पुर्‍याउने मात्रामा रहेको प्रधानमन्त्रीले जानकारी गराएको केही घन्टामै सरकारी अधिकारीहरूले फेरि घटेको बताएका छन् । दाइइची प्लान्टको रियाक्टर ५ र ६ मा पनि तापक्रम बढिरहेकोले बिस्फोटको खतरा रहेको अधिकारीहरूले बताएका छन् ।
विकिरणको डरले घर बाहिर निस्किन नपाउने आशंका गर्दै राजधानी टोकियोबासीले  दैनिक आवश्यकीय वस्तुहरू संकलन गरिरहेका छन् । केही स्टोरहरूमा खाना, पानी, मुख छोप्ने मास्क र मैनबत्ती सकिएका छन् । ३४ वषर्ीया गृहिणी मारिको कावासेले एफपीसँग भनिन्, 'म अहिले किनमेल गरिरहेको छु, हामी विकिरणका कारण बाहिर निस्किन सक्दैनौँ ।'  


सरकारले आणविक प्लान्ट क्षेत्रभन्दा ३० किलोमिटर टाढासम्म उडान निषेधित क्षेत्र घोषणा गरेको
छ । फुकुसिमा वरपर एक घन्टामा निस्किने विकिरणको मात्र कानुनी सीमाभित्र एक वर्षमा देखिनेभन्दा ८ गुणा बढी रहेको प्लान्ट सञ्चालक टोकियो इलेक्टि्रक पावर कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय एटोमिक ऊर्जा एजेन्सी (आईएईए) का अनुसार मंगलबारको विस्फोटपछि विकिरणको मात्रा प्रतिघन्टा ४ सय मिलिसिभर्ट उक्त क्षेत्रमा पाइएको छ । १ वर्षमा १ सय मिलिसिभर्टभन्दा बढी निस्किँदा क्यान्सर गराउन सक्ने विश्व आणविक संगठनले जनाएको छ ।


सोमबार फुकुसिमा प्लान्टको रियाक्टर-३ मा भएको हाइड्रोजन विस्फोट ४० किलोमिटरसम्म महसुस गरिएको थियो । शनिबार रियाक्टर-१ पडकएको थियो । ती सबैमा विस्फोट चिस्यान संयन्त्रले काम नगरेपछि भएको हो । रियाक्टर-२ मा नियन्त्रण च्याम्बरमा क्षति पुगेको हुन सक्ने अनुमान छ । जापानमा देखिएको आणविक संकट युक्रेनमा सन् १९८६ मा भएको चेर्नोबेयल प्रकोप जत्तिकै देखिएको छ ।
यसैबीच, युरोपेली युनियन (ईयू) सदस्य राष्ट्रहरूले आफ्ना आणविक ऊर्जा प्लान्ट परीक्षण गर्ने निष्कर्षमा पुगेका छन् । जापानको संकटका कारण जर्मनीले आफ्ना ७ वटा आणविक प्लान्ट बन्द गरेको छ ।
आणविक प्लान्टमा विस्फोटपछि थुप्रैले विश्वको ठूलो जनघनत्व भएको सहर टोकियो छाडेका छन् । केही बासिन्दा घरभित्रै बसेका छन् । सरकारले टोकियोमा विकिरणको मात्रा कम भएको आश्वासन दिए पनि स्थानीय बासिन्दा, आप्रवासी र पर्यटकले जापानमा बसिरहन खतरा हुने बताएका हुन् । थुप्रै कम्पनीले कर्मचारीलाई बिदा दिएका छन् । पर्यटकले भ्रमण छोट्याएका छन् । केही एयरलाइन्सले उडान रद्द गरेका छन् । आणविक संकट खराब भए नियमित उडान परिवर्तन गर्ने तयार गरेको अमेरकी संघीय उड्डयन निकायले जनाएको छ । टोकियोमा १ करोड २० लाख जनसंख्या छ । मुख्य विमानस्थलमा  सहर छाड्न खोज्नेको भीड लागेको छ ।
त्यस्तै प्रकोपको ५ दिनपछि ७० वर्षीया वृद्धालाई तटवर्ती सहर ओट्सुचीको भग्नावशेषबाट जीवित नै उद्धार गरिएको छ । ९१ मुलुकले ब्लान्केट, खोजी कार्यमा प्रयोग गरिने कुकुर, सैन्य एयरक्राफ्टलगायत सहयोग प्रस्ताव गरेका छन् ।
कस्तो असर पुर्‍याउँछ ?
जापानको आणविक प्लान्टमा विस्फोटपछि चुहिएको विकिरणबाट जनस्वास्थ्यमा असर पर्ने देखिएको छ । मानवतन्तुले सोसेका विकरणको मापन सिभर्ट इकाईमा गरिन्छ ।
एक सिभर्ट बराबर १ हजार मिलिसिभर्ट हुन्छ । एक मिलिसिभर्ट बराबर १ हजार माइक्रो सिभर्ट हुन्छ । मानिसले वर्षेनी २-३ मिलिसिभर्ट विकिरण प्राकृतिक रूपमा पाइरहेका हुन्छन् । सीटी-स्क्यान गर्दा प्रौढ उमेरकाले १५ र नवजात शिशुले ३० मिलिसिभर्ट विकिरण सोस्छन् । दुई वा तीनपटक सीटी-स्क्यान गर्दा ९० मिलिसिभर्ट जम्मा हुने भएकाले यसले क्यान्सरको खतरा बढ्ने विभिन्न प्रमाणले देखाएको छ ।


विकिरणले मानिसको केन्द्रीय स्नायु प्रणाली, रातो र सेतो रक्त कोष बिगार्छ र रोग प्रतिरोधात्मक प्रणाली कम गराउँछ । एक सिभर्टले वान्ता, रक्तश्रावलगायतका समस्या देखिए पनि तत्काल मृत्यु भने हुँदैन । ५ सिभर्टले एक महिनाभित्र झन्डै आधाको मृत्यु हुन्छ । विश्व आणविक संगठनका अनुसार चेर्नोबेल दुर्घटनामा करिब ३५० माइक्रो सिभर्ट विकिरण पाइए त्यहाँका बासिन्दालाई अन्यत्र सारिएको थियो । हड्डीको क्यान्सर (लुकेमिया) मात्र होइन, फोक्सो, छाला, थाइराइड, स्तन, पेटलगायत क्यान्सर पनि लामो समयपछि देखिन सक्छ । स्रोत: कान्तिपुर 
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute