Sunday, June 5, 2011

भारतीय योग गुरु रामदेवलाई हत्या गर्ने प्रयास

नयाँ दिल्ली, जेठ २२ (एजेन्सी)- भारतीय योग गुरु रामदेवले आफूलाई सरकारले हत्या गर्ने योजना बनाएको दाबी गरेका छन्। त्यही कारण महिलाको कपडा लगाएर बाहिर फुत्कन सफल भएको दाबी पनि उनले गरे।  सलले घाँटीमा बेरेर तानेर मार्न खोजेको आरोप लगाउँदै उनले भने, 'ममाथि पशुको जस्तो व्यवहार गरियो, म अपराधी त हैन नि।'सँधै गेरुवस्त्रमा देखिने रामदेव पत्रकार सम्मेलनमा सेतो पहिरनमा देखिएका थिए। उनले त्यो पहिरन आफूले शोखले नलगाएको भन्दै मार्ने षड्यन्त्र भएपछि भाग्न महिलाको कुर्था लगाएको बताए। उनले आफूलाई 'इन्काउन्टर' (भिडन्तमा मार्न खोजेको) दावी पनि गरे। सरकारले जलियावाला...


बाग कान्ड दोहोर्‍याउन खोजेको उनले आरोप लगाए। सन् १९१९ मा पञ्जाबको अमृतसरस्थित जलियावाला बागमा वैशाखी मनाउन भेला भएका निहत्था मानिसहरुमाथि ब्रिटिस इन्डियन सेनाले गोली हानेका थिए। घटनामा हजारभन्दा बढीको मृत्यु भएको थियो। 

रोए रामदेव-
महिला र बालबालिकाहरुलाई आफ्नै आँखा अगाडि प्रहरीले बर्बर दमन गरेको भन्दै पत्रकार सम्मेलनमा रामदेव रोए। आफूले महिलाको लुगा लगाउनुको कारण बताउँदा पनि उनी  रोएका थिए। 

'अनसन रोकिन्न'-
रामदेवले आफ्नो अनसन यो घटनाले नरोकिने बताएका छन्। आफूलाई केही भए सोनिया गान्धी र कङ्ग्रेस सरकार जिम्मेवार हुनुपर्ने चेतावनी उनले दिए। उनका सहयोगी आचार्य बालकृष्णलाई पनि प्रहरीले गिरफ्तार गरेको र अहिले उनी दिल्लीमा नै रहेको जानकारी दिए। उनले आज र भोलि कालो दिवस मनाउने बताए। 

'सोचेकै थिइनँ'-
सत्याग्रहमा सरकारले यस्तो अत्याचार गर्छ भनेर नसोचेको पनि उनले बताएका छन्। उनले आजको दिनलाई कालो दिवसका रुपमा मनाउने पनि बताएका छन्। उनले सरकारले आफूविरुद्ध भ्रम फैलाएको आरोप पनि लगाएका छन्। सरकारले नियन्त्रणमा लिएर उनकै आश्रम हरिद्वार पुर्‍याइएका रामदेवले भर्खरै पत्रकार सम्मेलनमार्फत् भनेका छन्- सरकारले बर्बरताको सबै हद नाघ्यो। एक लाख मानिसमाथि अत्याचार गरियो। महिला र बालबालिकामाथि कुटपिट गरियो।

'स्वीस ब्याङ्कमै धर्ना दिन जाऊ'
यसअघि रामदेवलाई स्वीस ब्याङ्कमै गएर धर्ना दिन बिहारी नेता लालु यादवले सुझाव दिएका थिए। त्यसैगरी विपक्षी दल भारतीय जनता पार्टीले रामदेवको धर्नामा भएको सरकारी हस्तक्षेपलाई बर्बर भनेको छ। 

भाजपा नेता अरुण जेटलीले मध्यरातमा भएको घटना स्मरण गर्दै भनेका छन्- 'यो लोकतन्त्रका लागि लज्जास्पद हो।' भाजपाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ सुषमा स्वराजले प्रहरी हस्तक्षेपमा ६९ जन घाइते भएको र ३५ जना अझै अस्पतालमा रहेको जानकारी दिइन्। 'भजनकीर्तन गरेकालाई अश्रुग्यास हान्ने, सुतिरहेकामाथि लाठीचार्ज गर्ने काम कुन चाहिँ लोकतान्त्रिक देशमा हुन्छ ?', उनले प्रश्न गरिन्।  प्रधानमन्त्रीको निर्देशनमा सोनिया गान्धीको सहमतिमा यो कारबाही भएको उनले आरोप लगाइन्। 

प्रहरी हस्तक्षेप-
यसअघि गएको मध्यरातमा प्रहरीले हस्तक्षेप गरी अनसन तोड्दै उनकै हरिद्वारस्थित आश्रमतर्फ पुर्‍याइएको छ। ब्रान्ड बनिसकेको गेरु बस्त्र नपहिरी पहिलो पटक  सेतो पहिरनमा रामदेव हरिद्वार पुगेको टेलिभिजनहरुले देखाएका छन्। हरिद्वारबाट रामदेवले अहिले केही समयमा पत्रकार सम्मेलन गर्दैछन्। 

रामदेवको आन्दोलनमा भएको हस्तक्षेपको विपक्षी भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीले विरोध गरेका छन्। उनले प्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस नेतृ सोनिया गान्धीले माफी माग्नुपर्ने बताउँदै संसदको आपतकालीन अधिवेशनको माग गरेका छन्।  

मध्यरातमा भएको प्रहरी हस्तक्षेपपछि रामदेवको समर्थनमा दिल्लीको रामलीला मैदानमा अनसन बसेका हजारौँ समर्थक तितरबितर भएका थिए। प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेपछि अनसन स्थल आतंकित भएको थियो। 

रामदेवका समर्थकहरुले योगगुरुलाई गिरफ्तार गरिएको आरोप लगाएका छन्। पिल्लाइले उनलाई केही समयका लागि नियन्त्रणमा लिइएको र पछि दिल्ली बाहिर पठाएको बताए। 

उनले हिजो समर्थकहरुलाई सम्बोधन गर्दै आन्दोलन हिंसाउन्मुख नहुने तर सरकारले हस्तक्षेप गर्‍यो भने ठीक नहुने चेतावनी दिएका थिए। पिल्लाइले कुनै पनि आपतकालीन अवस्थालाई सम्हाल्न नयाँ दिल्ली प्रहरी तयार भएको बताए। 

भ्रष्टाचारविरुद्ध कडा कानून ल्याउनुपर्ने तथा विदेशमा राखिएका भारतीय धन राष्ट्रियकरण गरिनुपर्ने मुख्य माग रामदेवको छ। यसबाहेक १ हजार र ५ सय रुपियाँका नोट छाप्न बन्द गर्नुपर्ने, भ्रष्टाचार गर्नेलाई मृत्युदण्ड दिनुपर्नेलगायत माग पनि उनले अघि सारेका छन्। 

पटकपटक सरकारले उक्त कार्यक्रम रोक्न रामदेवलाई आग्रह गरे पनि सफल हुन सकेन । अर्थ मन्त्री प्रणव मुखर्जीदेखि प्रधान मन्त्री मनमोहन सिंहसमेतले रामदेवलाई सत्याग्रह रोकाउन निकै प्रयास गरेका थिए। तर यसका लागि महिनौंदेखि तयारी गरिरहेका उनले सरकारको आग्रहलाई बेवास्ता गरेपछि प्रहरीले हिजो कारबाही गरेको हो। स्रोत: नागरिक न्युज  
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute