Monday, June 20, 2011

खाडी मुलुकका श्रममन्त्रीहरूद्वारा पारिश्रमिक बढाउने आश्वासन

खाडी मुलुकका श्रममन्त्रीहरूले नेपाली कामदारले उत्कृष्ट काम गर्दै आएको भन्दै संख्या र पारिश्रमिक बढाउने आश्वासन दिएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सयौं सम्मेलनका क्रममा कतार, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र मरिससका श्रममन्त्रीले यस्तो आश्वासन दिएको श्रम तथा यातायात व्यवस्थामन्त्री मोहम्मद इस्तियाक राईले बताए ।उनका अनुसार मन्त्रीहरूले अहिलेको भन्दा उच्च दरमा नेपाली कामदारको संख्या बढाउने नीति अवलम्बन गरिने बताएका छन् । खाडी मुलुकका सरकारले विदेशी कामदार लिन बर्सेनि कोटा तोक्ने गर्छन् । पछिल्लो समय एकै देशका कामदारको संख्या बढी हुँदा सामाजिक...


तथा सांस्कृतिक समस्या आउने भन्दै श्रमिक स्रोत विविधीकरणका क्रममा नेपाललाई उच्च प्राथमिकता दिने मन्त्रीहरूको भनाइ छ ।
खाडी मुलुकमा कुल जनसंख्याको ७० प्रतिशत विदेशी कामदार रहेकोमा अहिलेसम्म १८ लाखमात्र नेपाली गएका छन् । “नेपालीहरू शान्त र मेहनेती मानिएकाले रोजगारीका अवसर उपलब्ध गराउन खाडीका मन्त्रीहरूले आश्वासन दिएका छन्,” मन्त्री राईले भने ।
कन्सुलर खुल्ने
नेपाली कामदार बढी लिन श्रम गन्तव्य मुलुकहरू साउदी अरब, यूएई र कतार काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सकारात्मक देखिएको जानकारी मन्त्री राईले दिए । “खाडी मुलुकले यसका लागि तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्,” उनले भने ।
साउदीको दूतावास वा कन्सुलर कार्यालय नहुँदा भिसाका लागि बंगालदेश जानुपर्ने बाध्यता छ भने कतार र यूएईका नक्कली भिसा आउनेलगायतका समस्याबाट नेपाली पीडित छन् । यसबाट नेपालीहरूको लाखौं रुपैयाँ खर्च हुने गरेको छ ।
कामदार र पारिश्रमिक वृद्धि
खाडी मुलुकहरूले नेपाली कामदारको संख्या र पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता पनि जनाएका छन् । साउदी, कतार र यूएईका श्रममन्त्री तथा सचिवहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेको मन्त्री राईले जानकारी दिए । “हामीसँगको भेटमा नै त्यहाँको श्रममन्त्रीले अधिक नेपाली कामदार लिन र कामदारको सुरक्षाको प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेका छन्,” उनले भने, “नेपाली कामदारका समस्या समाधानका लागि स्थानीय दूतावासलाई सहयोग गर्ने प्रतिबद्धता पनि उनीहरूले जनाएका छन् ।”
खाडी मुलुकमा नेपाली कामदारहरूले न्यून तलब पाउने, जोखिमयुक्त काम गर्नुपर्ने, बिमाको व्यवस्था नहुनेलगायत समस्या झेलिरहेका छन् ।
घरेलु कामदारको मापदण्डमा प्रतिबद्धता
नेपालले खाडी मुलुकमा नेपाली महिला कामदार खुला गरेको जानकारी ती देशका श्रममन्त्रीहरूलाई दिएको छ । “घरेलु कामदारमा लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी दियौं,” मन्त्री राईको भनाइ उद्धृत गर्दै मन्त्रालय सहप्रवक्ता कृष्णहरि पुष्करले भने ।
खाडी मुलुकहरूले घरेलु कामदार प्रतिबन्ध फुकुवा गरिए नेपालमा आफ्नो कन्सुलर वा मिसन खोल्ने बताउँदै आएका थिए । दुई साताअघि सरकारले खाडी मुलुकमा घरेलु कामदारलाई मापदण्ड बनाएर पठाउन खुला गरेको थियो । “बिमा, तलबलगायतका व्यवस्था पनि मान्न उनीहरू तयार देखिएका छन्,” पुष्करले भने ।
एमओयूमा पहल
खाडी मुलुकका श्रममन्त्रीहरू दुई देशबीच श्रम सम्झौता (एमओयू) सम्बन्धी काम अगाडि बढाउन सकारात्मक देखिएका छन् । सहप्रवक्ता पुष्करका अनुसार यसका लागि चाँडै द्विपक्षीय वार्ता गर्ने सहमति भएको छ । “अहिले श्रम सम्झौता नहुँदा गन्तव्य मुलुकलाई उत्तरदायी र जवाफदेही बनाउन सकिएको छैन,” उनले भने, “अब यो प्रक्रिया छिट्टै बढ्छ ।”
ट्रेनिङ सेन्टरमा सहयोग
नेपालबाट अधिकांश अदक्ष कामदारमात्र जाने गरेकामा खाडी मुलुकका श्रममन्त्रीहरू चिन्तित रहेको नेपाली प्रतिनिधिमण्डलले जनाएको छ । यसको स्थायी समाधानका लागि उनीहरूले छिट्टै नेपालमा ट्रेनिङ सेन्टर खोल्ने प्रतिबद्धता जनाएको पुष्करले बताए । “नेपाली कामदारका समस्या समाधानका लागि उच्चस्तरीय भ्रमण गर्ने सहमति भएको छ,” उनले भने, “जेनेभा भ्रमणबाट हामीले उपलब्धिमूलक काम ग¥यौं, सम्बन्धित मुलुकसँग वार्ता गर्न पहिले लाखौं खर्च गर्नुपथ्र्याे ।”
मरिससले पनि एमओयू गर्ने
सम्भावित रोजगारीको गन्तव्य मरिससका श्रममन्त्री सरिक मोहम्मदसहितको टोलीसँग नेपाली टोलीले भेट गरेको छ । भेटमा तत्काल दुई देशबीच श्रम सम्झौता (एमओयू) सम्बन्धी प्रकृया आगडि बढाउने सहमति भएको छ ।
“त्यहाँको सरकारले तत्काल एमओयू मस्यौदा बनाउन सुरु गर्नेछ,” मन्त्री राईले भने, “हामीले पनि दुई–तीन दिनमै एमओयू बनाउन थाल्नेछौं । नेपालभन्दा मरिसस नै एमओयू गर्न हतारिएको छ, यो नेपालका लागि सकारात्मक उपलब्धि हो ।” स्रोत: कारोबार 
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute