Monday, April 9, 2012

साउदी अरेबियामा चार महिनादेखि नेपाली कामदारहरु अलपत्रमा

मोरङ खोर्साने- २ का वृद्ध विष्णुप्रसाद ढुंगेल साउदीमा चार महिनादेखि अलपत्र माहिलो छोरा होमनाथको उद्धारका लागि पहल गरिदिन नधाएको कुनै ठाउँ बाँकी छैन । निर्वाचन क्षेत्रका सभासददेखि परराष्ट्र मन्त्रीसम्मको ढोका उनले ढकढकाए । जिल्ला पुग्ने हरेक नेतालाई बिन्ती बिसाए । छोरालाई पठाउने म्यानपावर कम्पनीले कुरासमेत सुन्न मानेन । वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गरेको पनि महिनौं बित्यो । तर विष्णुप्रसादको वेदना सुन्नसम्म कोही तयार भएनन् । साउदीमा अलपत्र होमनाथले पनि आफ्नो पीडा यसरी सुनाए-'चिनजानको एजेन्ट जय खपाङ्गीमार्फत काठमाडौंको प्याराडाइज म्यानपावरबाट साउदी आएको...


२१ महिना बित्यो । साउदीको दोस्रो सहर जेद्दाको नजलास्थित अल्बातल कम्पनीमा क्लिनरको काम गर्न आएको हुँ । महिनाको तलब, ओभरटाइम गरी हजार साउदी रियाल -२० हजार रुपैयाँ) भनेकाले म्यानपावर कम्पनीलाई एक लाख बुझाएँ । तर कम्पनीबाट तलब नपाएको ८ महिना बढी भइसक्यो । सँगै आएका विराटनगरका आमोदकुमार कार्की, गौरादहका खेमराज कार्की, खोटङका भूमिराज कटुवाल अलपत्र छौं ।

तलब नपाएपछि कैयौं रात पानी मात्रै पिएर कटाएका छौं । एकपल्ट चार दिनसम्म भोकै बस्नुपर्‍यो । कम्पनी म्यानेजरलाई कुरा राख्दा मालिकलाई देखाइदिन्छन् । मालिकसँग अहिलेसम्म देखभेट भएको छैन । म्यानेजरका अनुसार ऊ सम्पर्कविहीन छ । अति भएपछि यहाँको श्रम अदालतमा निवेदन दियौं । यो तातो गर्मीमा लेबरकोट नधोएको दिनै छैन । श्रम अदालतबाट पनि सुनुवाइ भएन । उल्टै मालिक नआएको भन्दै हामीसँग झर्किन्छन् । अहिले त अदालतका अधिकारीहरू तिमीहरू बाहिर जा, अब नआइजा भनेर लेखेट्छन् । यो बिरानो मुलुकमा कता जाने ? कसलाई भन्ने ?

नेपालको दूतावास धेरै टाढा रियादमा छ, पुग्न सक्ने अवस्था छैन । त्यहाँका अधिकारीसँग पटक-पटक फोनवार्ता भएको छ । त्यताबाट फोनमा 'हुन्छ' भन्नेबाहेक अरू जवाफ पाइन्न । हाम्रो स्थिति दिन प्रतिदिन नाजुक बन्दै छ । चार महिनादेखि खानका लागि घरबाटै पैसा मागिरहेका छौं । आउँदाको एक लाख ऋणको ब्याजसमेत तिर्न नसकिरहेका बेला कमाउन आएका हामी उल्टै खानका लागि घरकै भर पर्नुपरेको छ ।

फुत्त साउदीबाट हिँडौं त मालिकले जाने भिसा दिनुपर्छ । आफैं आउन मिल्ने भए टिकट काटेर आउने थियौं । फेरि हाम्रो अक्कामा (परिचयपत्र) बनेको छैन । हामी बन्धकजस्तो अवस्थामा छौं । त्यो बिनाहिँडडुल गर्दा प्रहरीले समातेर जाकिदिन्छ । कम्पनी छाडेर भागौं त 'भगौडा कामदार' को सूचीमा परिन्छ । जसले गर्दा ८ महिनाको पसिनालाई माया मार्नुपर्छ । जुन हामी सक्तैनौं । फेरि भाग्नु भनेको अनिश्चित जेल बसेर फिर्ता हुनु हो । यो अर्को जोखिमपूर्ण काम हो । सीधै प्रहरी कार्यालय जाँदा कम्पनीमा जाऊ भन्दै लखेट्छन् । भागेकालाई पनि प्रहरीले समात्दैन । दलाललाई दुई/तीन हजार रियाल -४० देखि ६० हजार रुपैयाँ) घूस दिनुपर्छ । यो हाम्रो क्षमताभन्दा बाहिरको कुरो हो । कम्पनीसँगको करार सकिएको एक महिना बित्यो । अहिले हाम्रो अगाडि रुनु र बिलौना गर्नुबाहेक कुनै विकल्प छैन । यस्तो अवस्थामा हामीलाई स्वदेश फर्काइदिन सबैलाई अनुरोध गर्दछौं । हामीले गरेको मेहनतको फल -तलब) र घर आउन पाए ठूलो गुन लाग्ने थियो ।' स्रोत: कान्तिपुर 
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute