Sunday, August 7, 2011

अमेरिकी अदालतको आदेशपछि एएनए निर्वाचन स्थगित भयो

अगष्ट ६ तारेख हुन गइरहेको एशोसियसन अफ नेपलिज इन अमेरिकाज (एएनए) को नयाँ कार्य समितिको निर्वाचन एकाएक स्थगित गरिएको छ । निर्वाचन समितीका सदस्यहरू शारदा खाती र हिरा शर्माले जारी गर्नुभएको प्रेस विज्ञप्ती अनुसार म्यारील्याण्ड राज्यको प्रिन्स जोर्जेज काउन्टी सर्किट अदालतको आदेशानुसार १० दिनको लागि एएनएको चुनाव स्थगित गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।प्राप्त जानकारी अनुसार अदालतले उजुरीकर्ता प्रल्हाद केसी तथा उहाँको समूह र बिपक्षीहरू एएनएको तत्कालिन अध्यक्ष सिमोन ढुंगाना, तदर्थ समितीका अध्यक्ष छेवाङ शेर्पा लामा, निर्वाचन समितीका प्रमुख सुदिप श्रेष्ठ लगायत तत्कालिन...


महासचिव तथा अहिलेको निर्वाचनमा अध्यक्षका उम्मेदवार धीरेन गुरूङ र उहाँको प्यानलको पाँच जना पदाधिकारीहरू समेतलार्इ १० दिन सम्मका लागि निर्वाचन लगायत एएनए सम्बन्धि गतिविधी नगर्न आदेश जारी गरिएको छ ।

अघिल्लो निर्वाचन समितीले तोकेको समयसीमाभित्र परेको उम्मेदवारी र सदस्यता प्रमाणिकरण समितीले बुझाएको सदस्यता प्रमाणिकरण सम्बन्धि प्रतिवेदनको आधारमा २४४ जना आजिवन सदस्यसहित प्रल्हाद केसी र उहाँको समूह वाहेक अध्यक्षका उम्मेदवारहरू धीरेन गुरूङ र एचबी भण्डारी समेत एएनएको क्रियाशिल सदस्यता नरहेको पाएपछि धीरेन र एचबी दुवै उम्मेदवारलार्इ निर्वाचन समितीले अयोग्य घोषित गर्दै प्रल्हाद केसी र उहाँको समूहलार्इ निर्विरोध विजेता घोषणा गरेको थियो ।

तर एएनएको संस्थापन पक्ष, वर्तमान तदर्थ समितीका अध्यक्ष तथा तत्कालिन एएनएले गठन गरेको स्वतन्त्र कार्य दलका अध्यक्ष छेवाङ शेर्पा लामा, निर्वाचन समितीका सुदिप श्रेष्ट, उम्मेदवारहरू धीरेन गुरूङ र एचबी भण्डारी लगायत एएनएको एउटा तप्काले उक्त निर्णय राजा उपाध्याय एक्लैले गरेको भनि बिरोध जनायो । केसी समूह एएनएको विधान सम्मत ढंगले आफूहरू निर्वाचित भएको भन्ने र बिपक्षी समूह एएनए जत्रो ठूलो संस्थाको २४४ जना मात्रै सदस्य हुनै नसक्ने जिकिर गर्दै विवाद अघि बढ्यो ।

दुवै समूहबीच आरोप प्रत्यारोप चल्दै गर्दा एएनएको संस्थापन पक्षले २९ औं डिसी सम्मेलनताका साधारण सभा गरी छेवाङ शेर्पा लामाको अध्यक्षतामा तदर्थ समिती र सुदिप श्रेष्टको संयोजकत्वमा निर्वाचन समिती गठन गर्दै अर्को निर्वाचनको तयारी गरयो । निर्वाचन अभियान तीब्र रूपले अघि बढिरहेको बेला गत अगष्ट ४ मा अदालतले जारी गरेको अन्तरीम आदेशानुसार निर्वाचन समितीले दश दिनको लागि निर्वाचन स्थगित गरेको छ । तदर्थ समितीका अध्यक्ष छेवाङ शेर्पाले अदालतको आदेशको पूर्ण रूपमा पालना गर्ने बताउनु भएको छ भने प्रल्हाद केसीसँग सम्पर्क हुन सकेन । एएनएको नयाँ निर्वाचन हुने नहुने बिषयको टुँगो लगाउन भने अगष्ट १४ सम्म कुर्नुपर्नेछ । स्रोत: अनलाइन खबर 
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute